बाक्लो हुस्सुले उडान हुन नसक्दा लुक्लामा सयौं पर्यटक अलपत्र

September 16, 2019 |Pahiloclick

काठमाडौं : तीन दिनदेखि यता मौसमले साथ नदिएपछि सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् ।

खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएका छन ।

 

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार गत शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् ।

शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरणले जनाएको छ ।

आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो ।

बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ ।

 

निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् ।

सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन् ।

 

खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ ।

एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करीब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ ।

विमानस्थलमा हवाइजहाज नभए पनि हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।