अस्तव्यस्त सडकमा नयाँ ट्राफिक प्रमुखका यस्ता छन योजना

September 9, 2019 |Pahiloclick

 

काठमाडौँ : उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त हुँदैछ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने जानकारी दिइएको छ ।

 

केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर गएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए ।

 

“सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उनले भने ।

 

ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

 

महाशाखा प्रमुख ढकालले चाँडो नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने बताए ।

 

विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रमलाई महाशाखाले अगाडि सार्ने उनको भनाइ थियो ।

 

उपत्यकाको ट्राफिक व्यवस्थापनका क्रममा देखिएको पार्किङ अभाव, ट्राफिक नियम पालना नगर्ने प्रवृत्ति, साना पुराना र बढी धुवाँ फाल्ने सवारी साधनलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर समस्याको समाधान गरिने महाशाखा प्रमुख ढकालले बताए ।

 

काठमाडौँ उपत्यकामा हाल दुई हजार १४ किलोमिटर सडकमा झण्डै १० लाख सवारी साधन ओहोरदोहोर गर्दै आइरहेका छन् ।

 

एक ट्राफिक प्रहरीले १.५ किलोमिटर सडक तथा ९०० सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।