चिनियाँ विदेशमन्त्री वाङ राजनीतिक भेटघाटमा व्यस्त, काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा चीनको सहयोगबारे छलफल गर्ने

September 9, 2019 |Pahiloclick

काठमाडौं : नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसंग नेपाली टोलीले आज रेलमार्ग निर्माण लगायत यसअघिका सम्झौताबारे छलफल गर्दैछन ।

 

वाङ नेतृत्वको चिनियाँ टोली र नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीबीच आज अपराह्न होटल याक एण्ड यतीमा यसबारे छलफल हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

छलफलमा केही समझदारी पत्रमा हस्ताक्षर समेत हुने जनाइएको छ ।

 

वाङले बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो राखेको छ । आजको वार्तामा यी काममा अहिलेसम्म भएको प्रगतिबारे पनि छलफल हुने अनुमान गरिएको छ ।

 

बीआरआईमा यसअघि नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै वार्ता मुख्यतयाः केन्द्रित रहने अनुमान गरिन्छ । तर नेपाली पक्षबाट भने काठमाडौं–केरुङ रेलमार्गमा चीनको सहयोगबारे चासो व्यक्त हुने परराष्ट्र स्रोतले जनाएको छ ।

 

चीनको सहयोगमा काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ ।

 

उच्चस्तरीय दुइपक्षीय वार्तापछि विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्नेछन ।

वाङसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा रेलमार्गको विषय उठ्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताएका छन ।