रानीपोखरी पुनःनिर्माण सुस्त गतिमा, यसपालीको तिहारमा मन्दिर खुल्ने सम्भावना न्यून

पुनःनिर्माण हुँदै गरेको रानीपोखरी
September 5, 2019 |नमिता चौलागाई

 

काठमाडौं : ऐतिहासिक सम्पदा रानीपोखरीको पुनःनिर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

 

२०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको पुनःनिर्माणको कार्यले अझै गति लिन सकेको छैन ।

 

पुनःनिर्माणको थालनी भएको ६ महिना वितिसक्दा पनि भर्खरै जग हाल्ने काम मात्रै भइरहेको छ ।

रानीपोखरीको माझैमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरको पनि मर्मत सम्भार कार्य सुस्त गतिमा भइरहेको छ ।

 

रानीपोखरी पुनःनिर्माणमा संलग्न चोभारमा बस्ने ५४ वर्षीय देवरत्न महर्जनका अनुसार मन्दिरको काम सुरु भएको १५ दिन भयो । भाइटिकासम्म निर्माण कार्य सक्ने योजना बनाएर अगाडि बढेका छौ ।

 

महर्जनले भने, पहिलेकै बनावटमा मन्दिर बनाउनका लागि अहिले १३ जना कामदार कार्यरत छन ।

 

त्यसैगरी रानीपोखरीकै वरपर पर्खाल बनाइरहेकी भक्तपुर निवासी ३७ वर्षकी सुभद्रा ध्वजुले ६ महिनादेखि निरन्तर रानीपोखरीमै खटिएको बताइन । ४ महिनाअघि पर्खाल निर्माण कार्यमा महिला मात्रै खटिँदा समस्या भएकाले अहिले पुरुष कामदारहरु पनि काममा आएको जानकारी दिइन ।

 

भक्तपुर नगरपालिकासंग समन्वय गरेर काममा आएको उनले बताइन ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरबाट ४० जना कामदारहरुलाई यहाँको पुनःनिर्माणको कामको जिम्मा लगाएको हो । यी कामदारहरुले भक्तपुरस्थित ५० वर्षदेखि सुकेको भाजु पोखरीको समेत पुनःनिर्माण गरेका थिए ।

 

रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गरिँदै छ ।

 

यसअघि रानीपोखरी पुनर्निर्माणलाई लिएर पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद भएको थियो ।

 

पुननिर्माण गरेको महानगरपालिले रानीपोखरीभित्रको बालगोपालोश्वर मन्दिर पुनर्निर्माणमा रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) तथा रड र सिमेन्टको प्रयोग गरेको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिएका थिए । लगत्तै पुरातत्व विभागले काम रोक्न पत्र काटेपछि युनेस्कोले पनि चासो देखाउँदा पुनर्निर्माण काम रोकिएको थियो ।

पुनःनिर्माणका कामहरु सुस्त गतिमा भइरहेकाले यसपालिको तिहारमा भने यो मन्दिर खोल्ने सम्भावना न्यून रहेको त्यहाँ कार्यरत कामदारहरु बताउँछन ।

 

तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको मन्दिर खुल्ने गर्दछ । दाजुभाइ(दिदीबहिनी नहुनेहरु रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ ।