राजधानीमै अर्को सहकारीमा घोटाला, पाँच करोड लिइ सञ्चालक फरार

September 5, 2019 |Pahiloclick

 

काठमाडौं: झन्डै ५०० बचतकर्ताहरुको पाँच करोड रकम ठगी गरी दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन ।

मध्यबानेश्वरस्थित कात्यायणी चोकमा मुख्य कार्यालय रहेको यस संस्था, ५ करोड रकम घोटाला गरी एक महिनादेखि सम्पर्कविहीन छ ।

 

सहकारीको सञ्चालक समितिमा अध्यक्ष राजन पुतुवार (गोलढुंगा), उपाध्यक्ष किशोर बहादुर खत्री, सचिव डिल्ली बहादुर खत्री ( ओखलढुंगा), कोषाध्यक्ष मधुसुदन श्रेष्ठ, सदस्यहरु ओम कुमार खत्री( ओखलढुंगा), सांगे डोल्मा लामा र प्रेम महर्जन छन ।

 

यस सहकारीमा करीब ३५ लाख बचत गरेका एक पीडितका अनुसार संस्थाको सञ्चालक समितिका सातै जना सदस्य सम्पर्कविहिन छन भने मुख्य तथा ठमेलस्थित शाखा कार्यालयमा समेत ताला लगाइएको छ ।

 

संस्था फरार भएको भोलीपल्ट महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिँदा समेत यसबारे केही अनुसन्धान नभएको संस्थाका पीडितहरुको गुनासो छ ।

 

सहकारी विभाग पनि मौन

 

करीब एक वर्षदेखि यस संस्थामार्फत कारोबार गर्दै आएका पीडितले सहकारी विभागमा पनि ठगी गरेको सम्बन्धमा उजुरी हालेको र त्यहाँबाट पनि कुनै सुनुवाइ नहुँदा पीडितहरु एक महिनादेखि समस्यामा छन ।

 

विभागमा संस्थापक अध्यक्षका रुपमा राम पुतुवारको नाम दर्ता भएपनि संस्थाका अध्यक्ष उनैका छोरा राजन पुतुवार रहेका छन । दर्ता गरिँदादेखि नै आप्mना सदस्यहरुलाई झुक्याउँदै आएको यस सहकारीले वि.सं २०६७ मा स्थापना भएयता अहिलेसम्म साधारण सभा समेत बोलाएको छैन ।

 

साथै विभागबाट कुनै अनुमति नलिइ ठमेलमा समेत शाखा खोलेको पाइएको छ ।

 

सहकारी ऐन विपरीत सञ्चालित यस सहकारीको सञ्चालक समितीमै ५० लाखको ऋण रहेको संस्थामा आबद्ध सरस्वती खत्रीले जानकारी दिइन ।

 

सो सहकारीले सर्वसाधरणबाट धेरै व्याजमा निक्षेप उठाएको र निक्षेप फिर्ता दिन नसकेपछि सहकारी समस्यामा परेको थियो ।
सो सहकारीले साढे ४ करोड सम्म ऋण लगानी गरेको पाइएको छ । आफूले लगानी गरेको ऋण नउठेपछि उनीहरु फरार भएका हुन ।

 

सहकारीले आफ्ना सदस्यलाई विना धितो नै ऋण प्रवाह गर्दै आएको पीडितले बताएका छन ।

 

महानगरीय प्रहरी परिसर टेकुका अनुसार यस सहकारीबाट पीडितहरुको जाहेरी आउने क्रम जारी छ । पछिल्लो पटक १० दिन अगाडी मात्रै ५÷७ जना पीडित सदस्यले लिखित जाहेरी दिएका थिए ।

 

फरार सञ्चालकहरुको खोजी भइरहेको र अनुसन्धानलाई प्राथमिकतामा राखी काम गरिरहेको प्रहरीको भनाई छ ।  फरार व्यक्तिहरु कुनै पनि हालतमा उम्किन नपाउने यस घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक कृष्ण चन्दले जनाएका छन ।

 

राजनले आफ्नो बाबुलाई पनि यसरी झुक्याए

छोरो राजनले सहकारी विभागमा संस्था आफ्नो बाबुको नाममा दर्ता गराई आफुले भने सहकारी संचालन गर्दै आएका थिए। उक्त कुरा बारे बाबुसमेत जानकारी नभएको एक उनकै नजिका सहकारी पीडितले बताए।

 

पीडितपक्षहरु जव सहकारी बिभाग गए त्यहाँ सहकारी राजन पुतुवारको नाममा दर्ता नभई उनका बाबु राम पुतुवारको नाममा दर्ता कायम भएको थाहा भएको स्रोतले बताए।

 

पीडीतका अनुसार बचतकर्तालाई सहकारी उनको आफ्नै नाममा दर्ता भएको भनी भन्ने गरेको तर बास्तवमा बाबुको नाममा संस्था दर्ता गरी सदस्यलाई ठग्ने नियत अहिले थाहा भयो। यतिसम्म हुँदा पनि विभागले संस्थाको बारेमा जानकारी नराख्दा र सदस्यहरुलाई समयमै सचेत नगराउँदा सदस्यहरुले ठुलो बचत गुमाउनु परेको पीडितको भनाइ छ।

 

यी हुन सहकारीका सञ्चालकहरु: 

१ अध्यक्ष राजन पुतुवार (गोलढुंगा),
२ उपाध्यक्ष किशोर बहादुर खत्री,
३ सचिव डिल्ली बहादुर खत्री ( ओखलढुंगा),
४ कोषाध्यक्ष मधुसुदन श्रेष्ठ,
५ सदस्यहरु ः ओम कुमार खत्री( ओखलढुंगा),
६ सांगे डोल्मा लामा
७ र प्रेम महर्जन