शेयर बजारमा छलाङ्ग, नेप्से २०.५७ अंकले बढ्यो, ५१ करोडको कारोवार

September 3, 2019 |Pahiloclick

 

काठमाडौँ: निरन्तर घटेर धेरै कम्पनीको शेयरमूल्य सस्तिएपछि बजारमा मंगलबार खरीदकर्ताको चाप देखिएको छ। शेयरको मूल्य धेरै फराकिलो ढंगले घट्ने र बढ्ने क्रम चल्दा मंगलबार अन्तिममा समग्र बजार सुधारको दिशामा गएको देखिएको छ।

नेप्से सूचक लगातार घटेर सूचीकृत कम्पनीहरुको शेयरमूल्य अवमूल्यन भई ६ दर्जन सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै सस्तिएर मूल्य आम्दानी अनुपात १५ गुणा वा सो भन्दा तल आउँदा सस्तोमा राम्रा कम्पनीहरुको शेयर उठाउनेहरुले मौका छोपे ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकमा २०.५७ अंक बढीको बढोत्तरी आएको छ भने कारोबार रकममा समेत १० करोड बढीको वृद्धि भएको छ। शेयर बजार परिसूचक ११९०.९० बिन्दुमा उक्लिदाँ कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। १५ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन।

यस दिन १७१ वटा कम्पनीको २१ लाख ८४ हजार २७१ कित्ता शेयर ५१ करोड ५ लाख ५२ हजार रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो दिन ४० करोड ७५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। मंगलबार नेपाल बंगालादेश बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेपाल बैंकको पनि ३ करोड २९ लाखको शेयर खरिद बिक्री भएका छन्।

यसैगरि नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको दुई करोड बढीको शेयर कारोबार भएको बजारमा सानिमा, कृषि विकास बैंक, मेगा संस्थापक, कुमारी र प्रभु बैंक तथा शिबम् सिमेन्टसको एक करोड बढीको शेयर कारोबार गर्दै शिर्ष स्थानमा रहे । शिर्ष कारोबार भएका दश कम्पनीमा आठ वाणिज्य बैंक छन्।

कारोबारमा आएका ११ वटै उपसमुहका सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक नकारात्मक देखिएका छन् भने बाँकी ९ वटै
सूचकमा हरियाली छाएको छ । यस दिन जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, र लघुवित्तको सूचक २ प्रतिशत धेरैले बढेका छन्।