चिल्ला र महंगा गाडी नेपाली सडकमा गुड्नु अव नौलो रहेन

August 21, 2019 |पहिलोक्लिक टिम

 

काठमाडौं : अचेल सिनेमामा कुदेको देखिने चिल्ला महँगा कार नेपाली सडकमा हुइँकिन थालेका छन्। राम्रो आम्दानी हुने नेपालीले यी कार फिल्ममा हेर्नमात्र होइन, चढ्न थालेका छन्।

 

पछिल्लो समय नेपालमा गाडी चढ्ने मोह बढ्दो छ। उपभोक्ताले आफ्नो आम्दानीअनुसार गाडी चढ्ने गरेका छन्। आम्दानी बढेसँगै मोटरसाइकलबाट कार चढ्ने बढेका छन्। उक्त संख्यासँगै महँगा गाडी चढ्ने उपभोक्ता बढ्दै छन्। नेपालमा गाडी बिक्रेताले पनि महँगा गाडीका विभिन्न मोडलको बिक्री बढाउँदै लगेका छन्।

 

युरोप तथा अमेरिकामा बनेका प्रिमियम कार धमाधम नेपाल भित्रिन थालेका छन्। ल्यान्डरोभर, मर्सिडिज, अउडी, बीएमडब्लू, हम्मर, जगुआरलगायत चर्चित ब्रान्ड नेपाली सडकमा देखिन्छन्। खासगरी व्यावसायिक घराना र कूटनीतिक नियोगका व्यक्तिहरू महँगा गाडी चढ्छन्। कूटनीतिक नियोगका कर्मचारीलाई ड्यूटी फ्री सुविधा छ।

 

कतिपय विदेशी दूतावास तथा विदेशी संस्था आफ्नै मुलुकको प्रतिष्ठित ब्रान्ड प्रयोग गर्न रुचाउँछन्। ल्यान्डरोभर, मर्सिडिज, जगुआर, पोजो गाडी नेपालमै बिक्री हुन्छ। अउडी, बीएमडब्लू र हम्मर गाडी व्यक्तिगत रूपमा नेपाल ल्याएर चढेको देखिन्छ।

 

ल्यान्डरोभर र रेन्जरोभर

नेपालमा ल्यान्डरोभर र रेन्जरोभर कार किशोर गियरले बिक्री गर्दै आएको छ। विश्व प्रसिद्ध प्रिमियम लक्जरी ब्रान्ड हो, ल्यान्डरोभर। विशेषगरी व्यावसायिक घरानाको रोजाइमा ल्यान्डरोभर पर्ने गरेको छ। किशोर गियरका अनुसार नेपालमा पाँच मोडलका ल्यान्डरोभर गाडी बिक्री भएका छन्। अहिले नेपालमा तीन करोड रुपैयाँसम्मको ल्यान्डरोभर सडकमा दौडिन्छन्।

 

नेपालमा एक करोड ५० लाखदेखि दुई करोडसम्मका ल्यान्डरोभर गाडी बढी बिक्री हुने गर्छन्।

सिप्रदी समूहले झन्डै तीन करोड पर्ने गाडी किनेको छ। चौधरी समूह र प्रभु समूहसँग पनि ल्यान्डरोभर छ। प्रभु समूहले हालैमात्र पौने दुई करोड हालेर ल्यान्डरोभर किनेको हो। गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेसँग पनि ल्यान्डरोभर छ।

 

मर्सिडिज

जर्मनको प्रसिद्ध ब्राण्ड मर्सिडिज पनि नेपाली सडकमा हुइँकिन्छ। केही प्रतिष्ठित व्यावसायिक घराना मर्सिडिज गाडी चढ्छन्। सिप्रदी समूहले मर्सिडिज एस क्लास किनेको छ। २००९ मोडलको उक्त गाडीको मूल्य दुई करोड १० लाख

रुपैयाँ परेको थियो। यसैगरी, आईएमई समूह, शेष घले, गोल्छा अर्गनाइजेसन लगायतसँग पनि मर्सिडिज गाडी छ। कूटनीतिक नियोगका उच्च पदस्थ कर्मचारी र पदाधिकारी पनि मर्सिडिजमा कुद्छन्।

 

केही समय अगाडि कतारले नौ थान सुविधा सम्पन्न मर्सिडिज बेन्ज कार नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको छ। नेपाली सडकमा मर्सिडिजको संख्या बाक्लै छ। त्यही भएर मर्सिडिज कार आधिकारिक रूपमै नेपालमा बिक्री सुरुगर्न एक व्यावसायिक घराना कस्सिएको छ। नेपालीको मात्र होइन, युरोपियनको समेत ड्रिम कार हो मर्सिडिज बेन्ज।

 

लक्जरी कारमा अब्बल मानिने मर्सिडिज विश्वकै महँगो ब्रान्डमध्ये एक हो। नेपाली बजारमा उपलब्ध सबैभन्दा महँगोमध्येको ब्रान्ड पनि मर्सिडिज नै हो। पेट्रोलको गुणस्तर कमसल भएकाले अहिले नेपाली बजार भित्रिने मर्सिडिजका गाडी डिजेल इन्जिनजडित मात्रै छन्।

 

नेपालमा मर्सिडिजका एसयूभी र सेडान दुवै सेग्मेन्टका कारको कारोबार भइरहेको छ। यी दुवै सेगमेन्टमा ३/३ वटा मोडल उपलब्ध छन्। एसयूभीअन्तर्गत सबैभन्दा सस्तो मोडल जीएलसी हो, जसको मूल्य एक करोड ७५ देखि दुई करोड १५ हजार रुपैयाँसम्म पर्छ। अर्को एसयूभी जीएलईको मूल्य दुई करोड ६० लाखदेखि दुई करोड ८० लाख रुपैयाँ छ। सातसिटे जीएलएस मोडल सबैभन्दा महँगो एसयूभी हो जसलाई तीन करोड रुपैयाँ पर्छ। यो नेपालभर पाँचदेखि सातवटा मात्र रहेको कम्पनीले जनाएको छ। यी सबै एसयूभी तीन हजार सीसी इन्जिन क्षमताका हुन्।

 

जगुआर

हालैमात्र नेपाली बजारमा बेलायती प्रिमियम ब्रान्ड जगुआर भित्रियो। जसले नेपाली कार पारखीको ध्यान खिच्यो। कारमा ठूलो लगानी गर्न खोज्ने प्रतिष्ठित व्यवसायी जगुआर कार किन्न भनेर गए। नेपालमा जगुअर कार किशोर गियरले भित्त्याएको हो। बेलायती कम्पनी जगुआर ल्यान्डरोभर कम्पनीले जगुआर कार उत्पादन गर्दै आएको छ। नेपालमा जगुआर कार दुई मोडलमा ६ थान भित्रिएको थियो। नाकाबन्दीका कारण लामो समय भारतमा रोकिएको यो कार नेपाल भित्रिन नपाउँदै बिक्री भयो।

नेपालमा गाडी बिक्रेताले पनि महँगा गाडीका विभिन्न मोडलको बिक्री बढाउँदै लगेका छन्। युरोप तथा अमेरिकामा बनेका प्रिमियम कार धमाधम नेपाल भित्रिन थालेका छन्।

किशोर गियरले जगुआर २०१४ मोडल भित्त्याएको हो। जगुआर एक्स एफ र जगुआर एक्सजेएल गरी दुई मोडलका छन्। पुरानो मोडल भएको हुँदा एक्सएफको मूल्य एक करोड ३० लाखदेखि एक करोड ४० लाखसम्म र एक्सजेएलको मूल्य एक करोड ५० लाखदेखि एक करोड ६० लाखसम्म तोकिएको छ। यो कार गोल्छा अर्गनाइजेसन, सारडा ग्रुप, प्रेसिडेन्स ट्राभल्सलगायतले खरिद गरेका छन्।

 

बीएमडब्लू

जर्मनी प्रिमियम ब्रान्ड बीएमडब्लू पनि नेपाली सडकमा देखिन्छ। यो विश्वकै चर्चित प्रिमियम लक्जरी ब्रान्डको रूपमा चिनिन्छ। विश्वका धनाढ्यहरू बीएमडब्लू चढेर हिँड्छन्। नेपालमा पनि यो कार भित्रिएको छ। यो गाडी व्यक्ति स्वयंले नेपाल ल्याएर चढ्दै आइरहेका छन्।

 

अउडी

अउडी पनि प्रख्यात प्रिमियम कार ब्रान्ड हो। यो गाडी पनि नेपाली सडकमा कुद्न थालेको छ।

 

हम्मर

नेपाली सडकमा हम्मर कार पनि हुइँकिन्छ। प्रिमियम लक्जरी कार हम्मर आकर्षक डिजाइनमा छ। एउटा प्रतिष्ठित मिडियाका मालिकले हम्मर एच थ्री कार चढ्दै आएका छन्।

 

महँगा मोटरबाइकहरू

 

महँगा कारसँगै महँगा मोटरसाइकलको पनि प्रयोग बढ्दो छ। संसारका महँगा मोटरबाइकको सूचीमा पर्ने यी मोटरबाइकहरू मह‌ँगो हुनुको कारण यिनीहरूको डिजाइन, सुन्दरता, बाहिरी आवरण, फिचर र यिनमा भएका विशेषता हुन्।

 

मिलियन हार्ले डेभिडसन

ज्याक आमस्ट्रङले डिजाइन गरेको हार्ले डेभिडसनको यो मोटरबाइक सबैभन्दा महँगो बाइक हो। यसको मूल्य १० लाख अमेरिकी डलर पर्छ। यसमा ६–सिलिन्डर इन्जिन छ।

 

अल्ट्रा रेयर पर्कुपाइन

नामजस्तै यो बाइक पनि ज्यादै सीमित छ। यो मोटरबाइक दोस्रो विश्वयुद्धताका विकास गरिएको कारण पनि यो अलग छ। यो पहिले संग्राहलयमा राखिएको थियो तर संग्रहालय नै बिक्रीमा आएपछि यसलाई पनि बिक्रीमा राखिएको थियो। यसको मूल्य सात लाख ५० हजार अमेरिकी डलर पर्छ।

 

गोल्ड प्लेटेड कस्टम चपर

सुनको जलप लगाइएको यो मोटरबाइकको बडी मेटालिक छ। यसको मूल्य पाँच लाख अमेरिकी डलर पर्छ।

 

द लेजेन्डरी ब्रिटिस क्लासिक ब्ल्याक

यो मोटरबाइक यति युनिक छ कि यसको मेल संसारको कुनै बाइकसँग हुँदैन। यसमा दुईवटा सिलिन्डर छन् र यो २५० सीसीको छ। यो मोटरबाइक बेलायतमा निर्माण गरिएको थियो। यसको मूल्य चार लाख अमेरिकी डलर पर्छ।

 

एकोस एफई टीआई एक्सएक्स

यो सुन्दर मोटरबाइकको हर्सपावर २२५ छ र यसको इन्जिन आल्मुमिनियमले बनेको छ। यो विश्वका फास्ट मोटरबाइकमध्ये पनि पर्छ जसको गति २५० माइल प्रतिघण्टा छ। यसको मूल्य तीन लाख अमेरिकी डलर पर्छ।