मेलम्चीको बाँकी काम सक्न सिनो हाइड्रोलाई ठेक्का

August 20, 2019 |Pahiloclick

 

काठमाडौं: ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोशीको प्रमुख ठेकदार हो ।

 

सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभिजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाउने भएको हो ।

 

दुबै ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले सिनोले ठेक्का पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए । सुरुङ र हेडवक्र्सका कामका लागि फरक-फरक ठेक्कामा सिनो छानिएको उनले जानकारी दिए ।

 

सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाईड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउने भएको हो ।

 

कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । कम्पनीलाई आयोजनाले ‘लेटर अफ एसेप्टेन्स’का लागि बोलाएको छ । कम्पनी छनोट भएर निकालिएको सूचनामा कुनै दावी विरोध नपरेपछि सिनोलाई सम्झौतामा लागि बोलाइएको हो।

 

कम्पनीले पत्र बुझेपछि आयोजना अघि बढाउन सिनोसँग सम्झौता हुनेछ । दुबै ठेक्कामा सर्ट लिस्ट भएका दुईवटा कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत गर्न आयोजनाले एशियाली विकास बैंक -एडीबी)मा पठाएको थियो । मेलम्चीको दुई वटै ठेक्कामा चिनियाँ कम्पनी सिनो हाईड्रो र हाईहिमालय एन्ड रमण जेभी सर्ट लिष्ट भएका थिए । तर, रमण कन्स्ट्रक्सन कालोसूचीमा परेकाले यो परियोजनामा छनोट भए पनि काम गर्न नपाउने अवस्थामा थियो ।

 

आयोजना प्रमुख सूर्य कँडेल सिनोले यो आयोजनालाई आफ्नो प्रतिष्ठाको विषय बनाएर काम गर्ने विश्वास व्यक्त गरे । उनले सिनोले नेपालका थुप्रै आयोजनाहरु काम गरेर सफल उदाहरण पेश गरेकाले मेलम्चीमा पनि उसलाई राम्रो अवसर रहेको बताए ।

 

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।