धमाधम बन्दै पूर्वपश्चिम राजमार्ग

August 20, 2019 |Pahiloclick

 

काठमाडौं : मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्र राजमार्गको मर्मत कार्य शुरु भएको छ ।

कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत यो कामको थालनी भएको हो ।

डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो।

उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्ने जानकारी दिए ।

सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि हटाउने कार्यसमेत हुने छ ।

गत फागुनदेखि सुरु भएको कार्यक्रमले राजमार्ग जीर्ण हुनाका साथै दुर्घटना पनि बढ्न थालेपछि मर्मत थालेको हो ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि भीमदत्तनगर बजारसम्म पाँच किलोमिटर सडक दुवैतर्फ चौडा गरिएको छ ।

चालू आवमा गड्डाचौकीदेखी कैलालीको अत्तरियासम्म सडक मर्मतका लागि रु पाँच करोड विनियोजन गरिएको थियो

कार्यालयले चालू आवमा राजमार्ग छेउमा रहेका बिजुलीका पोल र रुख हटाउने कार्य गर्ने जनाएको छ ।