भोटेकोशीमा बाढी, अन्य नदीहरुमा पनि बहाव बढ्ने सम्भावना

August 19, 2019 |Pahiloclick

 

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बेलीब्रिज बगाएपछि नदी किनारका बासिन्दा सुरक्षित स्थानमा जान थालेका छन ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए ।

भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको हो ।

पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच आज पश्चिम राप्ती र बबई नदीमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरीएको छ ।

विपद व्यवस्थापन महाशाखाका अनुसार आज तनहूं, चितवन, नवलपरासी, पाल्पा,अर्घाखांची, गुल्मी, बागलुङ, रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पा, सल्यान भई बहने नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी किनारमा बसोबास गर्नेहरुले विशेष सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ ।