नेपालमा वार्षिक ४ लाख टन दुध अपुग, धुलो दुधको आयात रोकिदा बजारमा अभाव

August 12, 2019 |Pahiloclick

काठमाडौं: दुध उत्पादनमा क्रमिक रुपमा वृद्धि भएपनि नेपालमा अझै बार्षिक झन्डै ४ लाख टन दुध अभाव रहेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार गत वर्ष २२ लाख टन दुध उत्पादन भएको छ । दुध उत्पादन ६ प्रतिशतले बढे पनि अझै बार्षिक ४ लाख टन अपुग भएको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए।

बार्षिक प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्छ तर नेपालमा प्रतिव्यक्ति दुध उपलब्धता ७१ लिटर मात्रै भएको पन्तले जानकारी दिए ।

देशका विभिन्न भागमा उत्पादन भएको दुधको प्रभाबकारी संकलन गर्न नसक्दा पनि दुधको वितरण राम्रो हुन नसकेको बताउदै उनले भने दुध बढी उत्पादन हुने क्षेत्रका व्यक्तिले चाहिने भन्दा बढी दुध खपत गरिरहेका छन् भने सहरी क्षेत्रमा व्यक्तिले चाहिने भन्दा धेरै न्युन दुध खपत गरेका छन् ।

उनले भने-” अहिले हाम्रो चासो भनेको कसरी देशभरी उत्पादन भएको दुधलाई राष्ट्रिय दुध प्रणालीमा ल्याउने र वितरण गर्ने नै हो’

उनका अनुसार हाल देशमा उत्पादन भएको दुधको १७ प्रतिशत मात्रै फर्मल रुपमा बजारमा आउने गरेको छ भने ३३ प्रतिशत दुध स्थानीय व्यापारी मार्फत स्थानीय बजारमा बिक्रि हुने गरेको छ ।

उत्पादनको झन्डै ५० प्रतिशत दुध उत्पादक किसानले आफैले खपत गर्ने गरेको उनले बताए ।

यसरी धुलो मात्रामा दुध किसान आफैले दुध खपत गर्दा बजारमा दुधको अभाव भएको पन्तको भनाई छ । यधपी किसानले घरायसी खपत गरेको दुधबाट घ्यु, खुव र अन्य परिकार बनाएर स्थानीय बजारमा बेच्ने गरेका छन् । देशको दुर्गम क्षेत्र सम्म बाटोको राम्रो व्यबस्था हुननसक्दा सबै दुध प्रणालीमा ल्याउन नसकेको उनले बताए ।

हाल बजारमा दुधको अभाव हुँदा पटनाबट दैनिक ३० लाखको हाराहारीमा दुध आयात गर्ने गरिएको उनले बताए । सरकारले गत वर्षदेखि धुलो दुधको आयातमा रोक लगाएको कारणले हाल दुधको अभाव देखिएको उनले बताए ।

वार्षिक ४ हजार टन धुलो दुधको आवश्यक भएको बताउदै उनले भने बढी दुध उत्पादन हुने समयमा नेपाल भित्रै लगभग दुई हजार टन धुलो दुध उत्पादन हुनेगरेको छ ।

सरकारले देश भित्र दुधको उत्पादन बढाएर देशलाई दुधमा आत्मनिर्भर बनाउने उदेश्यले धुलो दुधको आयात रोकेको उनले बताए ।

हाल डेरी उधोगीहरुले धुलो दुधको आयात खुला गर्न माग गरिरहेका छन् । यधपी सरकारले आयात खुला नगर्ने बताएको छ ।

नेपालमा साना र ठुला गरि ५०० डेरी उद्योग संचालनमा रहेका छन् भने घरायसी रुपमा संचालन भएका लगभग ५००० डेरी संचालन भएको हुनसक्ने उनको भनाई छ । ६३ जिल्लामा एक हजार ८७२ सहकारी दुध संकलनमा आबद्ध भएको पन्तले बताए ।

नेपालमा १० लाख दुध दिने गाई तथा १५ लाख दुध दिने भैसी छन् ।

हाल वार्षिक रुपमा २२ लाख मेट्रिकटन दुध उत्पादन भइरहेको र ठूला गाईभैसीका फार्म खुल्ने क्रममा रहेकाले उत्पादन बढीरहेको पन्तले जानकारी दिए ।

पछिल्लो समयमा दुध उत्पादनक मूल्यको तुलनामा लागत उच्च भएकाले पनि कृषकहरु पेशाबाट पलायन समेत हुन थालेको बोर्डले जनाएको छ ।

अवको डेढ वर्ष भित्र नेपाल दुध उत्पादनमा आत्मनिर्भर हुने पन्तले बताए ।