वैदेशिक व्यापार: व्यापार घाटा १३ खर्ब २१ अर्ब, आयात १४ खर्ब, निर्यात ९७ अर्बमा सीमित

August 9, 2019 |Pahiloclick

काठमाडौँ: गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट ९७ अर्ब १० करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को तुलनामा आर्थिक वर्ष २०७५ /७६ मा व्यापार घाटा १३ दशमलब ५५ प्रतिशतले वृद्धि भई भएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलब ९३ प्रतिशतले र निर्यात १९ दशमलब ३६ प्रतिशतले बृद्दि भएको छ ।

समीक्षा अवधिमा निर्यातको वृद्धि आयातको तुलनामा बढेपनि सिमित उत्पादनको कारण व्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार १४ दशमलब २६ प्रतिशतले वृद्धि भई १५ खर्ब १५ अर्ब पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ८ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा दुई खर्ब ३ अर्ब रहेको छ ।

समीक्षा आवधिमा नेपालबाट भारतमा ६२ अर्ब ७३ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा ९ खर्ब १७ अर्ब बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा दुई अर्ब १० करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा दुई खर्ब ५ अर्ब बराबरको सामान आयात भएको छ ।

सम्बन्धित शीर्षकहरु