देशमा विषादीका नाममा मन्द विष फैलिँदै, गर्भमा रहेको बच्चा समेत उच्च जोखिममा

August 1, 2019 |अन्जली मोक्तान

काठमाडौं : अन्य मुलुकको तुलनामा नेपालमा थोरै मात्रामा विषादीको प्रयोग भएता पनि यसको मानव स्वास्थ्यमा गम्भीर असर देखिएको छ ।

आमनागरिक तथा किसानहरुमा विषादीको उचित रुपमा प्रयोग गर्न नजानेकै कारण थोरै मात्रा विषादीको प्रयोग भएपनि मानव स्वास्थ्यमा यसको गम्भीर असर पर्ने गरेको विशेषज्ञहरुले बताएका छन ।

 

प्रथमिक स्वास्थ्य सेवा श्रोत केन्द (रेस्फेक) संस्थाले आयोजना गरेको नेपालमा विषादीको प्रयोग र यसको स्वास्थ्यमा असर विषयक राष्ट्रियस्तरको गोष्ठीमा बोल्दै विषादीको उचित र प्रभावकारी प्रयोग गर्न नजान्नु नै ठुलो चुनौती भएको विशेषज्ञहरुले बताए ।

 

नेपाली किसानहरु प्रायजसो विषादी प्रयोग गर्दा नांगो हातैले प्रयोग गर्ने, नाक मुख नढाक्ने, खुटामा बुट नलगाउने जस्ता आचरणले गर्दा यसको नकारात्मक असरबाट किसानको स्वास्थ्य नै सबैभन्दा ठुलो जोखिममा रहेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराम शर्माले बताए ।

 

उनका अनुसार नेपालमा मात्रै ३९६ ग्राम प्रति हेक्टर विषादीको प्रयोग हुने गरेको छ । त्यस्तै जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन ।

 

शर्माले हाल नेपालमा विभिन्न सात स्थानमा मात्रै विषादी परीक्षण हुने गरेको जानकारी दिए । कालिमाटी तरकारी बजारमा कार्बोनेट
र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन भइरहेको छ ।

 

यसै कार्यक्रममा बोल्दै डा अरुणा उप्रेतीले विषादी र मानिसमा लाग्ने क्यान्सर अन्तरसम्बन्धित भएकाले जति धेरै विषादीको प्रयोग वा सेवन गर्यो, त्यत्ति नै बढी क्यान्सरको सम्भावना रहने जिकिर गरीन ।

 

विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा असर पर्ने उनले बताइन । विभिन्न अध्ययनले विषादीबाट गर्भवती अवस्थामा समेत गर्भमा रहेको बच्चामा यसले क्यान्सरको जोखिम बढाउने देखाएको छ ।

 

फोरेस्ट एक्सनका कृष्ण पौडेलले विषादीको उचित प्रयोग भन्दा पनि त्यसको प्रयोग नै नगर्न र सरकारले यसको आयातमा पूर्ण रुपमा निषेध गर्नुपर्ने उल्लेख गरे ।

 

यसैबीच केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राशायनिक विषादीलाई विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सवै तह र तप्काबाट दबाब दिनुपर्ने बताए । सदनमा अलपत्र अवस्थामा झैं रहेको जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्व पारित गराउन पहल गर्नुपर्ने धारणा राखे ।

सम्बन्धित शीर्षकहरु