हवाई महानिर्देशकको सम्मेलन भदौ २ देखि राजधानीमा हुने

July 26, 2019 |Pahiloclick

 

काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ ।

 

आगामी भदौँ २ देखि ६ गते अर्थात १९–२३ अगस्तमा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

 

सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् ।

 

आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ ।

 

यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् ।

 

आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुको सहभागिता रहने महानिर्देशक पोखरेलले बताएका छन ।

 

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो ।

 

यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो ।

 

महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।

 

आगामी अक्टोबर महिनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ ।

 

महासभा हरेक तीन वर्षमा हुन्छ । महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

 

यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुनेछ ।