जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक कालोपत्रे हुने

July 23, 2019 |Pahiloclick

 

काठमाडौँ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् ।

 

गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन ।

 

गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको स्थानमा मात्र विस्तार गर्न लागेजस्तो देखिन्छ ।

 

जीर्ण बनेको सडकका कारण यातायात सञ्चालनमा समस्या आउन थालेपछि हिजो सोमबार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा जनप्रतिनिधिसँग छलफल भएको थियो ।

 

छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

 

जीर्ण सडक मर्मतका लागि ग्राभेल भनेर माटो हालेर हिलो बनाइएको भन्दै स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेपछि आयोजना कार्यालयमा बैठक भएको हो । बैठकमा दुई बुँदे सहमति भएको नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

 

सडक विस्तार हुन नसकेपछि तीन पटकसम्म मर्मत भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जतिपटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताउनुभयो ।

सार्वजनिक स्थलमा बनेका संरचना हटाएर विस्तारमा सहयोग गर्ने विषयमा जनप्रतिनिधिसँग सहमति भएको उहाँले सुनाउनुभयो ।

 

नाली बनाएर ठूला खाल्डा भएका स्थानमा मर्मतको काम शुरु भइसकेको आयोजनाको दाबी छ ।

करीब सात किमि सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न चार वर्ष अघि ठेक्का सम्झौता भएको थियो ।

 

दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीयको गुनासो छ ।