पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

फाइल फोटो
July 23, 2019 |Pahiloclick

बुटवल : गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा अन्य पाँच जना हराइरहेका छन् ।

 

सत्यवती गाउँपालिका–४ लिम्घामा खसेको पहिरोले स्थानीय दलित बस्तीका तीन घरमा क्षति पु¥याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिनुभयो ।

 

“मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ”, सदस्य भट्टराईले टेलिफोनमा भन्नुभयो ।

 

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका–३ मा एकै परिवारका आमा छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको र अन्य पाँच जना बेपत्ता भएको पुष्टि गर्नुभयो ।

 

प्रजिअ पौडेलका अनुसार वडा नं ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उहाँका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको र अन्य पाँच जनासमेत हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी दिनुभयो ।

 

पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घरसमेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।