बाढी प्रभावित क्षेत्रबाट सयौं पशुपक्षीको उद्धार

July 18, 2019 |Pahiloclick

काठमाडौँ  : बाढी प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरको उद्धारपछि उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती तथा बाढीमा फसेका जनावरको उद्धार गरिएको हो ।

 

पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा तराईका रौतहट, बारा तथा सप्तरीमा बाढी तथा डुबानमा परेका पशुपक्षीका साथै जनावरको उपचार गरी पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ ।

 

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीको लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार गरिएको जानकारी दिइन ।

 

नेपाल भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले वर्षापछि प्रभावित क्षेत्रका ती जिल्लामा आपत्कालीन सहायताका लागि भेटेरीनरी औषधि, ¥याफ्टिङ डुुङ्गा (बोट) सहित आवश्यक सामग्री लिएर फिल्डमा उद्धारकार्यका लागि जुटेको जानकारी दिए ।

 

हाल दुवै संस्थाको गरी १४ जनाको टोली निरन्तररूपमा तराईका विभिन्न जिल्लामा सहायताको लागि खटिएको स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले बताए । आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रमा समेत पशुपक्षीको उद्धार गरिने उनले बताए ।