आज प्रदेश १ देखि ३ सम्म बाढीको खतरा, तराई क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह

July 10, 2019 |Pahiloclick

काठमाडौँ: बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको जनाएको छ ।

 

 

बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा रहेको छ ।

 

 

आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यसैगरी, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावका हुने सम्भावना रहेको छ ।

 

यसैगरी, भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेकोले पूर्वतयारी र प्रतिकार्यमा जुट्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।