भारी वर्षा गराउने प्रणाली अझै भारतमै, एक साता अझै मनसुन कम्जोर स्थितीमा रहने

July 3, 2019 |Pahiloclick

काठमाडौँ: अझै मनसुन सक्रिय हुन नसकेका कारण राम्रोसँग पानी पर्न नसकेको मौसमविद्ले बताएका छन्।

 

वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार पर्याप्त वर्षा हुनाका लागि न्युन चापीय रेखा आउनुपर्छ, त्यो अहिले मध्य भारतमा छ।

 

 

‘यो रेखा बिस्तारै मास्तिर (नेपालतर्फ) सर्ने क्रममा छ, त्यो नेपाल आइसकेपछि मात्र लगातार झरी सुरु हुन्छ,’ उनले भने, ‘यो आउन अझै केही दिन लाग्ने देखिन्छ।’

 

 

आज (बुधबार) पनि खासै वर्षा हुने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताए। उनका अनुसार आज अपराह्न पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ।

 

काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा भने अपराह्न वा साँझपख क्षणिक वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ।

 

‘यो वर्षा लगातारको हुने छैन, एकैछिन् जोडले पर्ने र रोकिने हुन्छ,’ उनले भने, ‘काठमाडौंकै एक ठाउँमा पानी प¥यो भने नजिकै अर्काे ठाउँमा नपर्न पनि सक्छ।’

 

उनका अनुसार अहिले बिहान सुदूरपश्चिम क्षेत्रमा बदली छ भने देशका बाँकी भागमा सामान्यतया मौसम सफा छ। केही स्थानमा आंशिक बदली पनि छ।

 

मौसमविद् श्रेष्ठका अनुसार लगातार झरी पर्न भने अझै केही दिन पर्खनुपर्ने देखिन्छ।

 

सामान्यतया जुन १० मा मनसुन नेपाल प्रवेश गर्ने गर्छ। तर, यस वर्ष १० दिन ढिला गरी मनसुन नेपाल भित्रिएको थियो।

 

मनसुन ढिला भित्रिनु त्यसमा पनि कमजोर किसिमको हुनुले यस पटक पर्याप्त पानी पर्न नसकेको मौसमविद्को भनाइ छ।

 

पर्याप्त वर्षा नभएकै कारण यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। किसान पर्याप्त वर्षाको पर्खाइमा छन्।