आज १६ औं राष्ट्रिय धान दिवस, वर्षा नभएपछि तराईका खेतमा धाँजा फाटे, किसान चिन्तित

June 30, 2019 |Pahiloclick

काठमाडौँ: आज असार १५, देशभर १६औ धान दिवस मनाइँदै छ ।

 

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने परम्परा छ ।

 

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।

 

नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

 

हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।

 

मध्यअसारसम्म वर्षा नभएपछि तराईका खेतमा धाँजा फाटेका छन्। बीउ राखेको ब्याड चिराचिरा परेको छ। धानको बीउ खडेरीले सुक्न थालेको छ। पर्याप्त सिँचाइको व्यवस्था नहुँदा मुलुकको मुख्य बाली आकाशे पानीको भरमा पुगेको छ।

 

मध्यअसार भइसक्दा पनि रुपन्देहीका किसानले रोपाइँ गर्न पाएका छैनन्। मनसुन सक्रिय नहुँदा ब्याडमा समेत धाँजा फाटेको छ। कतै बीउ छरिएको छैन, बीउ उम्रिएको खेत चिरा-चिरा परेको छ। झमझम वर्षा हुने समयमा चर्काे घाम र तापक्रम ३८÷४० डिग्री छ। सिँचाइ गर्ने सानो टयुबेल पनि सुक्दै गएको छ। खेत बाँझै छ।

 

‘वर्षा नहुँदा हामीलाई धेरै समस्या परेको छ’, ओमसतिया-४ वसन्तपुरमा खेतमा बीउ उखेल्दै भेटिएका किसान अमिरुल्लाह खानले भने, ‘सिँचाइका लागि भएको एउटा सानो ट्युबेल पनि सुक्दै गएको छ। खेतीकिसानी गरेर परिवारको गुजारा नै चलाउन गाह्रो भो।’

 

लामो प्रतीक्षापछि पनि मनसुन सक्रिय नहुँदा रुपन्देहीका कृषक दुखित छन्। खेतमा पानी हालेर भए पनि रोपाइँ गर्ने सुरसार गरिरहेका कृषकका लागि भूमिगत पानी पनि सुक्दा समस्या परेको छ।

 

छिटफुट वर्षा भइरहे पनि आधा घण्टा लामो पानी परेको छैन। रुपन्देहीमा न्यून सिँचाइ सुविधा उपलब्ध छ। मौसमकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ। ‘अहिले पानी परेको छैन। बढी खर्च गरी रोपाइँ गरे पनि पछि धानको मूल्य पाइँदैन’, किसान खानले भने।

 

रोपाइँ गर्नेले पनि जसोतसो खेतमा भूमिगत पानी हालेर रोपाइँ गरिरहेका छन्। यो खर्चिलो हुँदा किसान मारमा छन्।

 

रासायनिक मल उपलब्ध नहुँदा किसानलाई अर्काे चिन्ता थपिएको छ। ‘हामी किसानलाई प्रकृतिले मात्रै ठगेको छैन, राज्यबाट पनि ठगिँदै आएका छौँ’, रोहिणी गाउँपालिकाका किसान दिलीप यादवले भने, ‘रोपाइँ गर्ने चटारो छ तर मल खरिद गर्न पाएका छैनौँ।’

 

‘मलमा अनुदान दिने त त्यत्तिकै हरायो। सीमावर्ती भारतीय बजारबाट बढी मूल्यमा मल किन्नुपर्ने बाध्यता हामीलाई छ’, उनले भने।

 

परम्परागत शैलीकै खेतीपातीले गर्दा यो पेसा निर्वाहमुखी मात्रै बनेको रोहिणी गाउँपालिका-२ का कृषक अगुवा निजामुद्दिन पठान बताउँछन्। प्रदेश ५ सरकारले आगामी वर्षको बजेटमा कृषिमा ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर धेरै योजना ल्याए पनि कृषिमै आधारित वर्गको मूलभूत समस्यालाई यसले छुन नसकेको आवाज उठेको छ।

रोपाइँको चटारो आइसक्दासमेत कृषकले मल पाउन सकेका छैनन्। अहिले डीएपी मलको चरम अभाव छ।

 

त्यसैगरी, मोरङ बूढीगंगा गाउँपालिका-३ मुडेरीका सत्यनारायण राजवंशीले अघिल्लो वर्ष असार १५ मा रोपाइँ आधा सकेका थिए। धान रोप्दै असार १५ मा दही, चिउरा खाएको उनी सम्झन्छन्। उनले यस वर्ष भने रोपाइँ सुरु नै गरेका छैनन्। धानको बीउ खडेरीले सुक्न थालेको छ।