बन्दले देशभरको जनजीवन प्रभावित, विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला

June 25, 2019 |Pahiloclick

काठमाडौँ: विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

 

आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा बन्द आहृवान गरेका विप्लव नेतृत्वका बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ ।

 

अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।

 

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् ।

 

देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

 

बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।

 

काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

 

त्यसैगरी, झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।