न्युरोड क्षेत्रमा आइतबारदेखि स्मार्ट पार्किङ सेवा शुरु हुँदै

June 15, 2019 |Pahiloclick

काठमाडौँ: काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुआत भोलिबाट हुँदैछ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

 

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो । यसको उद्घाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्दैछन् ।

 

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

 

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

 

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्त्रिmन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

 

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नम्बर २ मा पर्छन् ।

 

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

 

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।