चलचित्र कलाकार संघको अध्यक्षमा खड्का, लामिछाने ५७ मतले पराजित

June 9, 2019 |Pahiloclick

काठमाडौं: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारण सभामा खड्का प्रतिद्धोन्दी सरिता लामिछानेलाई हराउदै विजयी भएका हुन् । २१८ मत प्राप्त गरेका खड्काले लामिछानेलाई ५७ मत अन्तरले हराएका थिए ।

 

संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिना र सानुकुमार विजयी भएका छन् । रेजिनाले २४३, सानुकुमारले १७५, प्राप्त गरेका थिए ।

 

महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा र सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।

 

लामो समयको मतभेद र विवादपछि सम्पन्न संघको निर्वाचनमा उपाध्यक्ष सानुकुमार बाहेक खड्काको प्यानलै विजयी भएको हो । खड्का ०४८ मा विधिवत् गठन भएको कलाकार संघको संस्थापक अध्यक्ष पनि हुन् ।

 

झन्डै २८ वर्षपछि पुनः अध्यक्षको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा संघको भवन निर्माण, कलाकारको सुरक्षा लगायका बिषय एजेन्डाको रुपमा अगाडि सारेका थिए । बिजय पछि खड्काले आफ्नो जित सम्पुर्ण व्यवसायी कलाकारको जित भएको प्रतिक्रिया दिए ।