नयाँ वर्ष २०७६ शुभारम्भ, शुभकामना आदान प्रदान गरी मनाइँदै

April 14, 2019 |Pahiloclick

काठमाडौँ: नयाँ वर्ष २०७६ आजबाट  शुभारम्भ भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष सेलिब्रेशनका लागि मुलुकभरका प्रमुख पर्यटकीय गन्तब्यका होटल आन्तरिक भरिभराउ भएका छन्।

 

काठमाडौं नजिकका पर्यटकीय गन्तब्य नगरकोट, धुलिखेल लगायतमा रहेका होटलमा आन्तरिक पर्यटक भरिभराउ छन् भने चितवन र पोखरामा पनि पर्यटकको चाप बढी देखिन्छ। सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघिनै ७० प्रतिशत भन्दा बढी रुम बुकिङ भइसकेका थिए।

 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

 

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश-विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीका नाममा सम्बोधनसमेत गर्दैछन् ।

 

नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

 

नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।