हावाहुण्डरीको अध्ययन गरी फर्किए मौसम मौसमविद्

April 8, 2019 |Pahiloclick

काठमाडौँ: बारा र पर्सामा आएको हावाहुण्डरीमा परी २९ जनाको ज्यान जानेगरी गत साता आएको हावाहुरीका विषयमा स्थलगत अध्ययन सकेर मौसमविद्को टोली काठमाडौं फर्किएको छ।

 

जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा बुधबारदेखि घटनास्थलमा खटिएकाे माैसमविद्काे टाेली आइतबार राति फर्किएको हो।

 

यसअघि नेपालमा यति ठूलो क्षति हुनेगरी कहिले नआएको उक्त हावाहुरी साधारण मौसमी प्रणाली नभई ‘टोर्नेडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि माैसम विभागका तीन, इसिमोडका दुई र द स्मल अर्थ नेपालका १ गरी ६ मौसमविद् रहेकाे टाेली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा खटिएकाे थियाे।

 

अध्ययन गरेर टाेली आइतबार राति फर्किएकाे विभागका महानिर्देशक सरजु वैद्यले पहिलोक्लिकलाई जानकारी दिए। अब स्थलगत अध्ययनबाट प्राप्त विवरणहरू केलाएर बढीमा तीन दिनभित्र टोर्नेडोका विषयमा वास्तविकता सार्वजनिक गरिने उनले बताए।

 

‘टोर्नेडोको नेपाली नाम के हुनसक्छ, नेपालमा यसअघि कहिल्यै नआएको यो माैसमी प्रणाली किन र कसरी भित्रियाे लगायतका विषयमा हामी दुई/तीन दिनभित्र विस्तृत जानकारी सार्वजनकि गर्नेछौं,’ उनले भने, ‘यसबाट आगामी दिनमा हुनसक्ने यस्ता विपत्तिबाट बच्ने उपायबारे सोच्न पनि मद्दत पुग्ने हाम्रो विश्वास छ।’