मुख्य मन्त्री पौडेल स्वयमले भने – सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन

February 6, 2019 |Pahiloclick

हेटौँडा: प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज उद्घाटन गर्दै उहाँले हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महसुस गरेको बताउनुभयो । यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उहाँले खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गर्नुभयो । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने बताउनुभयो । कार्यक्रमका प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदूरलाई नियुक्तिपत्र दिनुपर्नेमा जोड दिनुभयो ।
–––