राजधानीमा ‘चरा सम्मेलन’

February 3, 2019 |Pahiloclick

काठमाडौंँ : दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?”

मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ साल जलथलमा सबैतिर यात्रा गरेँ, अनगिन्ती रहस्य थाहा पाएँ, थाहा छ तिमीहरूलाई ? हाम्रा एक राजा रहेछन् नी !”

सुगाले आश्चर्य प्रकट ग¥यो, “राजा राजा ।” सबै चरा चिरबिर गर्न थाले । “हो, हामीले उनलाई खोज्नै पर्छ, नत्र हामी सबैको नाश हुनेछ, हाप्रेले भन्यो । उपस्थित चराले सामूहिक स्वरमा उल्याए । “कति राजा देखियो, कति राजा भोगियो, फेरि अर्को राजा किन चाहियो ?” “हे बुद्धि उडेका चराहरू, मेरो कुरा राम्ररी सुन, प्रभुको नाम हो सिमोर्घ, हो, चराको अश्लील महाराजा उनै हो । उनलाई भेट्न जाने आँट पनि मुटु भएकाले मात्रै गर्छ ।” फाप्रेको कुरा सुनेर फेरि चराहरूले सोधे, “के सिमोर्घ साँच्चै छन् त ?”

फाप्रे, “छन् ।”

कतिपय चराहरूले राजा भेट्ने मोह जगाए भने केहीले शङ्का व्यक्त गरे । ऐसआराम नपाउने भन्दै कालिज र राजहाँसले यात्रामा नजाने निधो सुनाए । यसरी भेला हुनेमा सुगा, ढुकुर, कोइली, भङ्गेरा, हाँस, कालिज मयुर, बाज, उल्लुलगायत थरी–थरीका चरा थिए ।

चराहरूको नेता बनेको टाठोबाठो चरो फाप्रेले अन्य चराहरूलाई उक्साउँदै राजा खोज्न प्रेरित गरिनै रह्यो । बाँकी चरालाई विभिन्न कथा र फुँदा गाँसेर फाप्रेले सिमोर्घ खोज्न लग्यो । उतार चढावले यात्र निक्कै कठीन बन्यो । यात्राका क्रममा उनीहरूले मरुभूमि, प्रेम, बुझाइ, विश्मय, विनाश, एकता र मृत्युको उपत्यका पार गर्नुपर्ने भयो ।

फाप्रेले बेलाबेलामा कथा सुनाउँदै थकित चरालाई हौस्याउँदै लान्थ्यो । उड्न नसक्ने अवस्थामा पुगेका चराहरूलाई उसले कथा सुनाउँदै अगाडि बढाउँथ्यो । नमान्ने चराहरूलाई फेरि जोसिला कथाले पगाल्थ्यो ।

सिमोर्घलाई एकताको प्रतीकको रूपमा परिभाषित गर्दै फाप्रेले उसको एउटा सुन्दर प्वाँख देखाएर पहिले नै मुग्ध पारिसकेको थियो । फाप्रेले दासको कथा, ऋषिको कथा, राजकुमारीको कथा अनि पीडाका कथा सुनाउँदै चराहरूलाई सहभागी गराउँथ्यो । दुःखकष्ट झेल्दै चराहरू यात्रामा दौडिरहे ।

अन्ततः काफ प्रदेशमा उनीहरूले सिमोर्घ भेट्छन् । त्यो सिमोर्घ अरु कोही नभएर उनीहरू आफैँ भएको रहस्य खुल्छ । यात्राका क्रममा महात्मा, बूढो मानिस, मगन्ते, बटुवा, राजा र चोरसँगका उपकथाले नाटकलाई जीवन्त पारेको थियो ।

अन्ततः हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरु गरिएको छ ।

पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्या­क्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ । बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो ।

नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन ।

कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् ।