देशभर कहिँ वर्षा, कतै हिमपात, विभिन्न भागमा सञ्चार र यातयात अवरुद्ध

January 26, 2019 |Pahiloclick

ठिनी: मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताउनुभयो ।

स्थानीयबासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन ।

पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम विमानस्थलमा एक फिट हिउँ जमेको कारण अवरुद्ध भएको छ । भारी हिमपातका कारण हवाई उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख भानु कौरलाले बताउनुभयो । मौसम राम्र्रो हुनासाथ हिउँ पन्छाउने कौरलाले बताउनुभयो ।

पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

वर्षा र हिमपातले कृषकमा भने खुशियाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिंह शेरचनले बताउनुभयो ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागवानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।

उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित

पर्वत: पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो ।

शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएको छ ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय कृषकले जानकारी दिएको छ । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायत लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

मोदी गाउँपालिका–४ क्याङको उपल्लो खर्क र सहश्रधारालगायतमा पनि करीब तीन फिटसम्म हिमपात भएको क्याङका नरसिंह पुनले जानकारी दिनुभयो । फलेवास नगरपालिका–१ र २ मा पर्ने डहरेको लेक, महाशिलाको फलामखानी, देउरालीलगायतका लेकमा पनि हिमपात भएको लुङ्खुदेउरालीका एकबहादुर हमालले जानकारी दिनुभयो ।

धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयवासी घर बाहिरै निस्कन नसकेको उहाँले बताउनुभयो ।

उपल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण कुश्मा, ज्ञाँदी, फलेवास, बिहादी, रानीपानीलगायतका बस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको स्थानीयवासीले बताएको छ ।

पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ ।

लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

हिमपातका कारण मार्तडी–कोल्टी सम्पर्क टुट्यो

बाजुरा: निरन्तरको वर्षा र हिमपातका कारण बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

विगत केहि दिनदेखि भइरहेको मौसम बदलीसँगै निरन्तरको वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखेलेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो । मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ ।

चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समस्या भएको छक्क मल्लले बताउनुभयो । मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधान रोकिएका छन् । सडक बाटो पूर्णरूपमा बन्द भएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रमुख भाटले जानकारी दिनुभयो ।

कोल्टी क्षेत्र सञ्चारविहीन

कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले जनाएको छ ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ ।

सञ्चार सुविधा नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । “कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । घाम लागेको बेला आउने भए पनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो ।

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टीको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन् । ती सबै टावर विद्युत् सेवा नहँुदा सोलार प्रविधिबाट जाडन गरिएका छन् ।

टेलिकम बाजुरा कार्यालयका कर्मचारी मानबहादुर रोकायाले बिजुली नभएकाले त्यस क्षेत्रमा सोलारको विकल्प नभएको बताउँदै कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको उल्लेख गर्नुभयो । चिसोले अस्तव्यस्त बनेको यहाँको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ ।
–––