सार्वजनिक सवारीभित्र भएको अश्लिल भिडियोबारे अनुसन्धान जारी छ: प्रहरी

January 25, 2019 |Pahiloclick

काठमाडौँ: सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए । प्रहरीले आजै एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए । उनले सामाजिक सञ्जालमा आएको भिडियोको प्राविधिक पक्षबारे विश्लेषण भइरहेकाले अहिलेनै यकिन भन्न नसकिने बताए ।