हिमपातले तीन जिल्लाको यातायात बन्द

January 25, 2019 |Pahiloclick

अमरगढी: सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ ।

दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन । दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन् ।

जयपृथ्वी राजमार्गको खोड्पे, ढोल्यामोड र श्रीभावर र दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ, बजारलगायत क्षेत्रमा करीब छ इञ्च बाक्लो हिउँ जमेको छ । राजमार्गमा जमेको हिउँ हटाउन राति हिउँ लगातार पर्ने गरेकाले सडक खुलाउने पहल भएपनि लगातारको पानी र हिमपातले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । चार दिनदेखि बैतडी जिल्ला सदरमुकाममा बिजुली नभएकाले जनजीवन प्रभावित भएको छ । टेलिफोन अवरुद्ध भएको र मोबाइल फोन चार्ज गर्न समस्या भएको छ ।