दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत

January 17, 2019 |Pahiloclick

गलकोट :पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हँुदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग १ ख ६१०८ नंको बस आज बिहान ८.१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो । बसको बे्रकफेल र तीव्रगतिको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।
–––

 

गलकोट : म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँै लगिएको छ भने थप तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।