उपत्यकाको तापक्रम शून्यमा झर्यो, चिसो अझै बढ्ने अनुमान

December 31, 2018 |Pahiloclick

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको जनाएको छ ।

तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।

मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’

यधपी काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।

मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।

बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।