यातायात प्राधिकरण छिट्टै, बैशाखभित्र ३०० विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ- यातायात मन्त्री

December 30, 2018 |Pahiloclick

काठमाडौं: सरकारले यातायात सेवा सञ्चालनका लागि छुट्टै प्राधिकरण गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात सेवा सञ्चालनको कामलाई व्यवस्थित बनाउन सरकारले यातायात सेवा प्राधिकरण गठन गर्न लागिएको जानकारी गराएका हुन् ।

आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी बैशाखभित्र ३ सय वटा विद्युतीय बस खरिद गरि सञ्चालनमा ल्याउने योजना पनि अघि सारे ।

काठमाडौं उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन मन्त्रिपरिषद बैठकले ३ सयवटा विद्युतीय बस खरिद गर्न स्वीकृति प्रदान गरिसकेको छ । मन्त्री महासेठले मन्त्रिपरिषद बैठकले स्विकृति दिएको उल्लेख गर्दै बैशाख भित्र सो विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।

मन्त्री महासेठले महेन्द्र राजमार्ग स्तरोन्नतिको कामलाई यही पुस २५ गतेबाट औपचारिक रुपमै अघि बढाउने घोषणा पनि गरे । महेन्द्र राजमार्गको नारायणगढ–वुटवल सडक खण्ड स्तरोन्नतिको काम सुरुमा सञ्चालन गर्ने मन्त्री महासेठको योजना छ ।

मन्त्री महासेठले २ लेनको सो राजमार्ग ४ लेन हुने गरी स्तरोन्नतिको काम गर्ने पनि जानकारी दिए । उनले सरकारले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई उच्च प्राथमिकता दिएको दावी पनि गरे ।

पत्रकार सम्मेलनमा मन्त्रालयका गरेका प्रथम चौमासिक कामको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो ।