आधुनिक बन्दै जाउलाखेलको सदर चिडियाखाना, नक्सा हेरेर घुम्न सकिने

July 5, 2018 |Pahiloclick

ललितपुर: राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।

यहाँका भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत चिडियाखाना बदलिन लागेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको डा चिरञ्जीवी खरेलले बताए । ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण वा मर्मत भइसकेको छ । राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर एउटा मात्रै बाँकी छ । उनि भन्छन् , “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउनेलाई देखाउनका लागि राखेका हौँ ।”

चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको प्रमुख खरेलले बताए । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो ।

उनि भन्छन् , “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् ।

पहिले फोहरले ढाकिएको देखिँदै आएको गोही अब सफा हुने भएको उनि बताउछन् । स्वचालित उपकरणले पानीले गोही सफा गर्ने गरेर काम भइरहेको छ । यसले गर्दा एकातिर अक्सिजन बढ्ने र अर्कातिर आगन्तुकले सफा गोही हेर्न पाउने छन् । कोइराला भन्छन् , “यसले गर्दा आगन्तुकलाई थप आकर्षित गर्ने हाम्रो विश्वास छ ।”

पहिले खोरसम्म आगन्तुकले हात पु¥याउँथे । पुराना खोर जनावरका लागि सहज थिएनन् । अहिले जनावरका लागि नयाँ बनेका नयाँ खोर फराकिला छन् । उनि भन्छन् , “जनावरको आवश्यकताअनुसार चिडियाखानामा सुधारको काम भइरहेको हो ।”

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको हो । यस ठाउँमा पहिले इँटा छापिएको थियो । उहाँ भन्नुहुन्छ, “ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।”

जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइराला बताउछन् । नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन ।

उनि भनछन् , “पहिले हामीले साँघुरोमा गाह्रो गरेर पकाउने र भाग लगाउने गर्दै आएकामा अहिले त्यो अवस्था छैन ।” पहिलेको भान्सामा अध्ययनका लागि आउने विद्यार्थी अटाउन मुस्किल पर्दथ्यो ।

यहाँ आउने आगन्तुकका लागि शौचालय बनिरहेको सहायक क्युरेट कोइराला बताउछन् । अपांगतामैत्री खालको शौचालय आगन्तुकको सहजतालाई ध्यानमा राखेर बनाइएको छ । चिडियाखानाभित्रै दुई ठाउँमा खानेपानीको व्यवस्था हुँदैछ । उनि भन्छन् , “हामीले चिडियाखानाको विकाससँगै आगन्तुकलाई पनि सकेसम्म सजिलो वातावरण दिन लागेका छौँ ।” रासस